सरकार बागमतीका १२ मन्त्रालयका लागि १३ मन्त्री नियुक्त

सरकार बागमतीका १२ मन्त्रालयका लागि १३ मन्त्री नियुक्त

नेपाली कांग्रेसबाट मन्त्री थपिएसँगै बागमती प्रदेशका १२ मन्त्रालयका लागि १३ मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसबाट सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीलाई मन्त्री बनाएका हुन्। योसँगै मुख्यमन्त्रीाबहेक १३ मन्त्री बनेका छन् तर मन्त्रालय भने १२ मात्रै छन्।
कांग्रेसबाट प्रदेश सरकारमा सहभागी भएका चार मन्त्रीले शनिबार शपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
यससँगै बुधबार नियुक्त भएका तीन र बिहीबार नियुक्त भएका चार मन्त्रीलाई जिम्मेवारी पनि दिइएको छ। लामिछानेले आन्तरिक मामिला तथा कानून, महर्जनले युवा तथा खेलकूद, खड्गीले सामाजिक विकास र ठकुरीले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअधि नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन्। मदुकुमार श्रेष्ठलाई विना विभागीय मन्त्री बनाइएको छ। उनलाई पछि जिम्मेवारी तोकिने उल्लेख गरिएको छ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता समीकरण बनेपछि प्रदेशमा पनि नयाँ सरकार गठन भएको हो। नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि एमालेको समर्थनमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका हुन्। उनले कांग्रेस र एमालेका गरी १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्।
 

खबरपाटी
खबरपाटी