निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन, डेडिकेटेड र ट्रंकलाइन विवाद छिट्टै समाधान हुन्छ : अर्थमन्त्री

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन, डेडिकेटेड र ट्रंकलाइन विवाद छिट्टै समाधान हुन्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा आयोजित भेटघाटमा उनले निर्माण व्यवसायीले पाउनुपर्ने  भुक्तानी नरोकिने बताएका हुन्।

'निमाण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन। राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ। अब गुनासो गरिरहने अवस्था आउँदैन', अर्थमन्त्री पौडेलले भने।

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रंकलाईन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानुनअनुसार सुल्झाइने आश्वासन उनले दिए। 'डेडिकेटेड र ट्रंकलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखिसक्नु भएको छ। यो विषयलाई त्रास र आतङ्कका रुपमा नलिनुस्। गैरकानुनी ढङ्गले सरकारले कुनै दायित्व सिर्जना गर्दैन', अर्थमन्त्री पौडेलले भने, 'यदि कसैले गैरकानुनी रुपले उद्योगीलाई दायित्व सिर्जना गर्न खोजेको छ, भने त्यो कोसिस सफल हुँदैन। यो समस्या समाधान गर्नका लागि केही समय लाग्यो। अब तपाईहरु डेलिगेसन आइरहनुपर्ने अवस्था रहँदैन।'

खबरपाटी
खबरपाटी