प्रधानमन्त्री प्रचण्ड पदमुक्त, खुल्यो नयाँ सरकार गठनको बाटो

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, खुल्यो नयाँ सरकार गठनको बाटो

धानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत गुमाएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा दाहालले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। संसद् बैठकमा दाहालले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नपुगेकाले अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

दाहालको पक्षमा ६३ सांसदले मात्रै मत दिए। त्यस्तै, विपक्षमा १९३ मत पर्‍यो। प्रतिनिधि सभामा विश्वासको मत पाउन १३८ सांसदको समर्थन आवश्यक पर्छ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले दाहाललाई विश्वासको मत दिए। नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने विपक्षमा मत दिए।

यसअघि दाहालले चार पटक विश्वासको मत लिएका थिए। चारै पटकमा कांग्रेस र एमालेले आलोपालो विश्वासको मत दिएका थिए।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपरेको हो। एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ।

प्रतिनिधि सभाबाट विश्वास गुमाएसँगै दाहाल पदमुक्त भएका छन्। अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन्।

दाहाल २०७९ पुस १० गते प्रधानमन्त्री भएका थिए। त्यति वेला उनलाई एमालेले समर्थन गरेको थियो।
https://www.himalkhabar.com/news/142281

खबरपाटी
खबरपाटी