दुई मन्त्रीसहित नयाँ गठबन्धनमा आउन माधव नेपाललाई देउवाको प्रस्ताव

दुई मन्त्रीसहित नयाँ गठबन्धनमा आउन माधव नेपाललाई देउवाको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेस(एमालेको नयाँ गठबन्धनमा आउन आग्रह गरेका छन् । मंगलबार राति ८ बजे अध्यक्ष नेपाललाई बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर सभापति देउवाले नयाँ गठबन्धनमा आउन आग्रह गरेका हुन् ।

कांग्रेस र एमाले मिलेर नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउन लागेकाले उक्त समीकरणमा आउन आग्रह गरेका हुन् । देउवाको उक्त प्रस्तावमा अध्यक्ष नेपालले भने पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् । एकीकृत समाजवादी स्रोतका अनुसार कांग्रेस सभापति देउवाले नेपाललाई साथ लिएर जान चाहेका छन् । त्यसमा एमालेले भने प्रस्ट जवाफ दिइसकेको छैन । एस स्रोतका अनुसार सभापति देउवाले २ वटा मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका छन् । एकीकृत समाजवादीको महाधिवेशन स्थलमा पनि यो प्रस्तावले निकै चर्चा पाएको छ ।

एसको सहयोगबिना संविधान संशोधनका लागि राष्ट्रियसभाको अंकगणितमा समस्या हुने अवस्था छ । एमाले र कांग्रेस मात्रै मिल्दा राष्ट्रियसभामा दुई तिहाइ बहुमत पुग्दैन । दुई तिहाइका लागि राष्ट्रियसभामा ३९ सिट आवश्यक पर्छ । एकीकृत समाजवादीसँग भएका ८ सिट थप हुने हो भने ठीक दुई तिहाइ पुग्छ । त्यस्तो बेलामा माओवादीसँग रहेको १७ सिट आवश्यक नपर्न सक्छ ।

त्यसैले कांग्रेसले एसलाई गठबन्धनमा सामेल गराउन खोजेको हो । त्यसमा एमालेले भने मौनता देखाइरहेको छ । एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुने भएकाले उनीसँग दुश्मनीपूर्ण सम्बन्ध रहेका नेपाल त्यही गठबन्धनमा जान्छन् कि जाँदैनन् रु भन्नेचाहिँ प्रश्न उठेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहभागी भएको विषयमै नेपाल असन्तुष्ट थिए । यी दुईले एकले अर्कोलाई अस्वीकार मात्र गरेका थिएनन्, एमालेको साथ पाएको सरकार ढाल्ने रणनीतिमा नेपाल नै सक्रिय थिए ।

कांग्रेस सभापति देउवाले प्रचण्ड र ओलीको गठबन्धनको विकल्पमा नेपाललाई प्रधानमन्त्रीको अफरसमेत गरेका थिए । ओली र प्रचण्ड मिलेर जसपा नेपाल विभाजित गराएपछि भने नेपाललाई प्रधानमन्त्री बनाउने गरी भएको वैकल्पिक गठबन्धनको कसरत टुंगिएको थियो । त्यससपछि नै कांग्रेसले एमालेसँग गठबन्धन गर्ने विकल्पमा छलफल सुरु गरेको थियो । महाधिवेशनको चक्करमा रहेका नेपालले देउवालाई नयाँ गठबन्धनबारे खास धारणा भने दिइसकेका छैनन् । देउवालाई भेट्न बेलुका बूढानीलकण्ठ पुगेका नेपालले बिहान भने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

खबरपाटी
खबरपाटी