भारतको यूपीमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १०० नाघ्यो

भारतको यूपीमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १०० नाघ्यो

काठमाडौँ : नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा मारिनेको सङ्ख्या १०० जनाभन्दा बढी पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको बीबीसीले जनाएको छ। ​मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आँकलन अधिकारीहरूको छ।

बीबीसीमा उल्लेख समाचार अनुसार उत्तर प्रदेशका अधिकारीहरूले एकजना कथावाचकको प्रवचन सुन्न हजारौँ मानिस भेला भएको ठाउँमा भागदौड भएको थियो।

भागदौडको कारण स्पष्ट भइसकेको छैन। तर सत्सङ्गका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण घटना भएको हुनसक्ने विवरण सार्वजनिक भएका छन्।

मुगलगढी गाउँमा आयोजना गरिएको हिन्दू देवता शिवको पूजामा त्यसरी मानिसहरू भेला भएका थिए।

खबरपाटी
खबरपाटी