काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्ने कार्यक्रम छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने छन् ।
यसको साथै, अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० लाई समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ ।