बैंकहरुको महँगो ब्याजदरले गर्दा अर्थतन्त्रमा माग कम भएको छ : राष्ट्र बैंक

बैंकहरुको महँगो ब्याजदरले गर्दा अर्थतन्त्रमा माग कम भएको छ : राष्ट्र बैंक

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बैंकहरुको महँगो ब्याजदरले गर्दा अर्थतन्त्रमा माग कम भएको निष्कर्ष निकालेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदनमा महँगो ब्याजदर र सापटी खर्चले गर्दा माग घटेको र अझै पनि उद्योगहरुलाई ऋण तिर्न समस्या परिरहेको उल्लेख छ ।

कोभिडको समयमा ल्याइएको लचिलो मौद्रिक नीतिले अझै ऋणीहरुको ऋण तिर्ने क्षमतामा असर गर्ने र त्यसले वित्तीय संस्थाको स्थायित्वमा समेत असर गर्ने प्रतिवेदनमा उल्लेख छ । तर चुनौती भए पनि बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त पूँजी, तरलता र नाफा कायम गर्न सफल भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो खराब कर्जाप्रति पनि चिन्ता जनाएको छ । खराब कर्जामा शंकास्पद कर्जाको हिस्सा उच्च दरमा बढेको राष्ट्र बैंकको ठहर छ । निष्क्रिय कर्जामा पनि शंकास्पद र खराब कर्जा बढिरहेकाले बैंकहरूको कर्जाको गुणस्तरमा अझै चिन्ता गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

सामान्यतया निष्क्रिय कर्जामा कमसल, शंकास्पद र खराब कर्जा पर्छन् । कर्जाको भाका नाघेको ३ देखि ६ महिना पुगेका कर्जालाई कमसल, यस्तो भाका नाघेको ६ महिनादेखि एक वर्ष कटेमा शंकास्पद र एक वर्षभन्दा धेरै समयदेखि भाका नाघेका कर्जालाई खराब कर्जामा राखिन्छ । 

खबरपाटी
खबरपाटी