सन्तुलित भोजन के हो ?

सन्तुलित भोजन के हो ?

काठमान्डौ- मानव जीवनको महत्वपूर्ण पाटो भनेको नै स्वस्थकर जीवनशैली हो । शरीर स्वस्थ रहेमा मात्रै मानिसले सहज तरिकाले आफनो जीवन यापन गर्न सक्दछ र आफनो हरकार्यमा सफल हुन सक्दछ । र स्वस्थकर जीवनको लागि थुप्रै पोषण तत्वहरु समावेश भएको सन्तुलित भोजन आवश्यक पर्दछ ।

अहिले बद्लिदो जीवनशैली, गलत खानपान, जंकफुडको अधिक प्रयोग, किटनाशक औषधीको गलत प्रयोगका कारण मानिसहरुले खानामा आवश्यक पौष्टिक तत्व प्राप्त गर्न सकिरहेका छैनन् । जसका कारण मानिसहरुमा विभिन्न समस्या उत्पन्न भइरहेको छ । त्यसैले हामीले आफनो तौल र उचाइ अनुसार खानेकुराको ब्यालेन्स मिलाउन सक्नुपर्दछ ।

 यसैगरी भनिन्छ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । र त्यसका लागि एउटा मुख्य उपाय भनेको हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु हो । रोग प्रतिरोधात्मक क्षमता बढाउनाले नै हामी सधै रोग मुक्त रहन्छौँ । हामी हरपल स्वस्थ रहन सक्दछौँ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन हाम्रो शरीरलाई ब्यालेन्स डाइट अर्थात सन्तुलित भोजनको आवश्यक पर्दछ । ब्यालेन्स डाइट अर्थात सन्तुलित भोजन हाम्रो स्वस्थकर जीवनको लागि चाहिने सम्पूर्ण पौष्टिक तत्वहरुको मिश्रण हो ।
सन्तुलित भोजनमा शरीरलाई चाहिने आवश्यक माइक्रोन्युट्रियन्टस्, क्यालोरी, तरल पदार्थ, लगायतको पौष्टिक तत्वको पर्याप्त मात्रा हुन्छ, जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।

 पौष्टिक तत्व के केमा पाइन्छ त ?

मानिसको लागि आवश्यक पर्ने पौष्टिक तत्वलाई ६ प्रकारमा वर्गिकृत गरिएको छ । ती हुन्— प्रोटिन, कार्बोहाईड्रेट, भिटामिन, चिल्लो पदार्थ, खनिज र पानी ।

प्रोटिन

मानव शरीरका लागि प्रोटिन नभई नहुने तत्व हो । यसले शरीरको कोशिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । प्रोटिनले पाचन प्रणाली लाई नियमित र संयमित बनाउन सहयोग गर्दछ । यसले शरीरलाई बलियो बनाउने तथा चोट लाग्दा निको बनाउन मद्धत गर्छ । यसैगरी गर्भवती महिलाहरुको लागि प्रोटिनको झन् धेरै आवश्यक हुन्छ । शिशुको निर्माण प्रक्रियामा पनि यसको अहम् भूमिका हुन्छ । हामीले बोडी, सिमी, च्याउ, केराउ, भटमास, माछा, मासु, दुध, अण्डा जस्ता खानाहरुबाट पर्याप्त प्रोटिन प्राप्त गर्दछौँ ।

कार्बोहाईड्रेट
हाम्रो शरीरमा कार्बोहाइड्रेटको धेरै आवश्यकता पर्दछ । कार्बोहाइड्रेटले शरीरलाई चाहिने शक्ति प्रदान गर्दछ । कार्बोहाइड्रेटले शरीरमा शक्ति प्रदान गर्नुका साथै रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ । यसैगरी मकै, चामल, गहुँ, सखरखण्ड, आलु, तरूल, उखु, केरा, भुईकटहर, आप, मेवा, एभोकाडो जस्ता खानाहरुमा आवश्यक कार्बोहाईड्रेट पाइन्छ ।

चिल्लो पदार्थ

हाम्रो शरीरको मुटु, कलेजो, र फोक्सोको रक्षा गर्ने कामहरु चिल्लो पदार्थले गर्ने हुनाले हाम्रो शरीरलाई चिल्लो पदार्थको धेरै नै आवश्यकता पर्दछ । यसैगरी दूध, रातो मासु, तेल, घ्यु एभोगाड्रो जस्ता खानाहरुमा चिल्लो पदार्थहरु प्रशस्त पाइन्छ ।

मिनरल वा खनिज

मिनरल वा खनिज हाम्रो शरीरलाई अति नै आवश्यक पर्दछ । हाम्रो शरीरलाई क्याल्सियम क्लोराइड, म्याग्नेसियम, फस्फोरस, सल्फर, सोडियम, पोटासियम, क्रोमियम, कोवाल्ट, कपर, फ्लुराइड, आयोडिन, फलाम, जिङ्क, सेलिनियम जस्ता विभिन्न प्रकारका मिनरलको आवश्यक पर्दछ । यस्ता मिनिरलहरुले नै हाम्रो शरीरको विकासमा ठूलो भूमिका खेल्दछ । माछा, मासु, दुध, दहि, मुला, गाजर, सिस्नु, पालुङ्गो जस्ता खानाहरुमा मिनरल वा खनिज पदार्थ प्रशस्त पाइन्छ ।

भिटामिन

शरीरलाई स्वस्थ राख्न चाहिने ६ प्रकारका तत्वमध्ये भिटामिन पनि एक हो । भिटामिनले शरीरको हाड जोर्नी, दाँत तथा विभिन्न तन्तुहरूलाई बलियो बनाउन मद्धत गर्छ । मानिसको आखाँ तेजिलो र स्वस्थ राख्नको लागि भिटामिनको आवश्यक पर्छ । केरा, आप, मेवा, कागती, गेडागुडी, स्याउ, गोलभेडा, चना, माछा जस्ता खानेकुराहरुमा प्रशस्त भिटामिन पाइन्छ ।

पानी

शरीरमा तापक्रम सही राख्नको लागि पानीको आवश्यकता पर्दछ । शरीरलाई स्वस्थ राख्न पर्याप्त पानी पिउँनुपर्दछ । शरीरमा पानीको कमी हुँदा विभिन्न प्रकारका रोगहरु लाग्दछ । एउटा वयस्क मानवको शरीर ६० प्रतिशत पानीले बनेको हुन्छ र यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ । त्यसैले शरीरलाई स्वस्थ राख्न एक वयस्क मानिसले तीन लिटर पानी पिउनुपर्दछ भने बालबालिकाकाले दिनमा दुई लिटर पानी पिउनुपर्दछ । पानीको कमीले छाला सुख्खा हुनु, मुख सुक्नु, धेरै तिर्खा लाग्नु, टाउको दुख्नु, शरारको वजन बढ्नु, अपचको समस्या जस्ता विभिन्न खालका समस्याहरु देखिन्छ ।

खबरपाटी
खबरपाटी