सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गा कर्जा केही सहज : मौद्रिक नीतिको त्रैमासिक समीक्षा

सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गा कर्जा केही सहज : मौद्रिक नीतिको त्रैमासिक समीक्षा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ।

त्यसैगरी घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टु ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी कर चुक्त प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने व्यवस्था ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाको एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मौद्रिक नीतिको समीक्षाबाट ल्याइएको छ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था एक दशमलव २५ प्रतिशतबाट घटाई एक दशमलव २० प्रतिशत कायम गरिएको छ। चाँदी आयात तथा बिक्रीवितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने पनि नेपाल राष्ट्र बैंकले जनाएको छ।

खबरपाटी
खबरपाटी