काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज पनि मौसममा आंशिक बदली भएको छ ।
आज बिहान तराईका अधिकांश जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भू-भागमा आंशिक बदली भएको छ भने अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कर्णालीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार र मंगलबारसमेत उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात हुने महाशाखाक पूर्वानुमान छ । यो अवधिमा पानी पर्ने सम्भावना भने देखिएको छैन ।
काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २।२ डिग्री सेल्सियस मापन भएको छ ।
‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २।२ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड हो,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले भने ।
गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ ।
तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ । पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु छ । ‘धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ, भद्रपुरतिर भने तुलनात्मक रुपमा अलि कम छ,’ मौसमविद झाले भने । पश्चिम तराईका जिल्लामा पारदर्शिता ५० देखि १०० मिटरसम्म रहेको उनले बताए ।
यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने सम्भावना रहेको मौसमविद झाले बताए ।
बाक्लो हुस्सुसँगै जाडो बढेकाले तराई मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । तर शीतलहरको घोषणा भने जल मौसम विज्ञान विभागले गरिसकेको छैन ।
‘शीतलहर घोषणा गर्नका लागि निश्चित प्यारामिटर मिट गर्नुपर्छ, त्यो अझै मिट भएको देखिएको छैन, हामी त्यसलाई नजिकबाट नियालीरहेका छौं,’ मौसमविद झाले भने ।