काठमाडौं । अपि पावर कम्पनीले आज पुस २७ गते वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार बिहान ११ बजे काठमाडौंको थापागाउँस्थित बानेश्वर व्याङ्क्वेटमा आफ्नो २० औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७९ ८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विभिन्न वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्न कम्पनी सञ्चालक समितिको प्रस्ताव पारित भएको छ ।
त्यस्तै, विशेष प्रस्ताव अन्तर्गत विभिन्न निकायहरुमा कम्पनी अद्यावधिक गर्दा आवश्यक काम गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । र, कम्पनीले विकास तथा निमार्ण भइरहेका जलविद्युत आयोजनाहरुमा थप लगानी गर्ने समेत प्रस्ताव पारित गरेको छ ।
कम्पनीले लाभांशको प्रस्ताव भने गरेको छैन । यस पटक लगानी बढाएको कारण लाभांश वितरण गर्न नसकिएको बताउँदै आगामी वर्षबाट दोहोरो अंकको लाभांश नटुटाउने प्रतिबद्धता सञ्चालक समितिको रहेको छ ।