आइतबार बिहान तीन घन्टाको अन्तरालमा धादिङमा चारवटा भूकम्पको कम्पन महसुस गरिएको छ।
आइतबार बिहान धादिङ, ज्वालामुखी-५ खरी केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। आइतबार बिहान काठमाडौं आसपासका जिल्लामात्र नभई चितवन र पर्वतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
केन्द्रकाअनुसार यो नयाँ भूकम्प नभई २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्पको निरन्तरता हो।पछिल्लो समय परकम्पको महसुस गरिएको थिएन। आइतबारमात्रै धादिङ केन्द्र गरी ७ः३९, ८ः०८, ८ः२८ र ८ः५९ मिनेटमा ४ वटा परकम्प भएको छ।
सुरूको कम्पन ६.१ म्याग्निच्युडको रहेको र त्यसपछिको धक्का ४.२, ४.३ र ४.१ रहेको राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।भूकम्पको धक्काबाट मानवीय क्षति नपुगेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। ज्वालामुखी-५ र ६ मा एकएकवटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको प्रहरी चौकी साँध भञ्ज्याङका इन्चार्ज गोकर्ण थापाले जानकारी दिए।
भूकम्पको केन्द्रविन्दु खरी, बूढीगण्डकी तटीय क्षेत्रमा जमिनमा चिरा परेको र केही ठाउँमा पहिरो चलेको गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालले जानकारी दिए।