चीनका हाङ्चाओ शहरमा आजदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदै छ ।
समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार ५ सयभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएका छन् । जसमा ४० खेल, ६१ वटा विधा र ४ सय ८१ प्रतिस्पर्धा हुनेछन् । एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नेछन् ।
खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कैयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ शहर पुगेका छन् ।
प्रतियोगितामा एसियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ । भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर) मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाओ शहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ । हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शोसमेतको व्यवस्थापन गरिएको छ ।
एसियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ । प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी शहरमा समेत आयोजना हुनेछ । विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र एक सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
करातेमा आठ, गल्फमा छ, कुस्तीमा चार, ह्यान्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, फेन्सिङमा छ, टेबल टेनिसमा छ, टेनिसमा छ, ट्रायथलनमा चार, भलिबलमा २४, भारत्तोलनमा पाँच तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।
एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागिता हुन लागेको पहिलो घटना हो । नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दैआएको छ ।