ट्रम्पले जर्जियाको जेलमा गरे आत्मसमर्पण, जेलले जारी गर्‍यो ऐतिहासिक तस्बिर

ट्रम्पले जर्जियाको जेलमा गरे आत्मसमर्पण, जेलले जारी गर्‍यो ऐतिहासिक तस्बिर

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ ।

ट्रम्पको जेलबाट आधिकारिक तस्बिर, जसलाई मगसट भनिन्छ, जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

ट्रम्पको जमानतको लागि दुई लाख डलरको बन्ड रकम तोकिएको छ । यस महिनाको सुरुमा, जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता र पूर्व राष्ट्रपति विरुद्ध थुप्रै  आरोप लगाएका थिए । जो बाइडेनको पराजयलाई प्रभावकारी रूपमा उल्टाउने षड्यन्त्रमा संलग्न भएको आरोप उनीमाथि छ ।

ट्रम्पले अदालत वा सङ्घीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो । यसअघि पनि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीन पटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाका अनुसार सन् २०२३ अघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन ।

फुल्टन काउन्टी जेलको बुकिङ सिटमा डोनाल्ड ट्रम्पको नाम राखिएको छ । यसले उनी विरुद्ध लगाइएको १३ आरोप, कथित अपराधको मिति र जमानत विवरणहरू पनि सूचीबद्ध गर्दछ ।

ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चुनावलाई चुनौती दिन सक्नुपर्छ । चुनाव धाँधलीपूर्ण चुनाव थियो भन्ने मेरो मान्यता हो । मैले कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ । निर्वाचनमा बेइमानी भएको महसुस भएमा त्यसलाई चुनौती दिने अधिकार हामीसँग छ ।’

खबरपाटी
खबरपाटी