टर्कीका राष्ट्रपति एर्दोगान खाद्यान्न सम्झौतामा पुटिनलाई मनाउने प्रयास गर्दै

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘ब्ल्याक सी’हुँदै युक्रेनी खाद्यान्न निर्यातसम्बन्धी सम्झौतामा पुन ः सामेल हुन सहमत गराउन चाहेको बताउनुभएको छ ।

टर्कीका राष्ट्रपति एर्दोगान खाद्यान्न सम्झौतामा पुटिनलाई मनाउने प्रयास गर्दै

 काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘ब्ल्याक सी’हुँदै युक्रेनी खाद्यान्न निर्यातसम्बन्धी सम्झौतामा पुन ः सामेल हुन सहमत गराउन चाहेको बताउनुभएको छ । 

“मलाई लाग्छ रूसी नेता पुटिनसँग विस्तृत कुराकानी गरेर मानवीय करिडोरको निरन्तरता सुनिश्चित गर्न सक्षम हुनेछौं,” एर्दोगानलाई उद्धृत गर्दै  टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले लेखेको छ । 

टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा जुलाई २०२२ मा इस्तानबुलमा युक्रेनसँग भएको सम्झौताको विस्तारको विरोध गरेपछि उहाँले यस विषयमा पुटिनसँग कुरा गर्ने बताउनुभएको थियो । 

रूसले युक्रेनी बन्दरगाहबाट करिब तीन करोड ३० लाख टन खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौतामा फर्कन तयार रहेको बताएको छ । तर उसले पश्चिमा प्रतिबन्धका कारण कृषि उत्पादन र मलको आपूर्तिमा बाधा पुगेको बताएको छ । 

यदि रूसी राष्ट्रपतिको अर्को महिना हुने भनिएको इस्तानबुल भ्रमण भएमा दुवै नेताले टर्कीमा अगस्टमा खाद्यान्न सम्झौताबारे आमनेसामने छलफल गर्नेछन् ।  

संयुक्त राष्ट्रसङ्घले गहुँ र मकैको विश्वव्यापी मूल्यमा परेको नकारात्मक प्रभावप्रति चिन्ता व्यक्त गरेको छ । सम्झौता अन्त्य भएको घोषणाले विश्व समुदायलाई चोट पु¥याएको छ । 

टर्कीले ‘स्वीडेनले चालेका कदमअनुसार कदम चाल्ने’ पनि एर्दोगानले बताउनुभएको छ जसले नेटोमा स्वीडेनको सदस्यताका लागि मार्ग प्रशस्त गरेको छ । 

यसै महिनाको सुरुमा टर्कीका राष्ट्रपतिले अक्टोबरमा सांसदहरू ग्रीष्मकालीन बिदाबाट जतिसक्दो चाँडो फर्केपछि नेटोमा स्वीडेनको प्रवेशमाथिको भिटो हटाएर टर्कीको संसदले सदस्यता अनुमोदन गर्ने पनि बताउनुभएको छ ।  रासस

खबरपाटी
खबरपाटी