काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले भारतको ‘ए’ टोलीलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।
खेल श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भइरहेको छ ।
नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियो । पालीको निराशाजनक सुरुआत गरेको नेपाली टोलीले ३९।२ ओभरमै अलआउट हुनुअघि १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालले अन्तिम विकेटका रुपमा ललित राजवंशीलाई गुमाएको थियो । उनको विकेट निसान्त सिन्धुले लिए । ललितको क्याच सिन्धु आफैले लिएका थिए । किशोर महतो दुई रनमा अविजित रहे ।
नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रनको योगदान गरे । गुल्सन झाले ३८ रन बनाए । नेपालले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।
भारतका बलर निसान्त सिन्धुले चार विकेट लिए । राजबद्र्धन हंगारगेकरले तीन विकेट हात पारे । हर्षित राणाले दुई विकेट लिए । अर्को एक विकेट मानव सुथारले हात पारे । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए । उनी शून्य रनमै पेभेलियन फर्किए । उनी आउट हुँदा नेपालले खातासम्म खोलेको थिएन । उनी भारतीय बलर हर्षित राणाको बलमा एलबीडब्लू आउट भएका थिए ।
दोस्रो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनी सात रनको ब्यक्तिगत स्कोरमा आउट भए । उनलाई राजबद्र्धन हंगारगेकरले विकेटकिपर ध्रुव जुरेलमार्फत क्याच गराए । ५.१ ओभरमा आसिफ आउट हुँदा नेपालको स्कोर २७ रन थियो । तेस्रो विकेटका रुपमा नेपालले देव खनाललाई गुमाएको थियो । आउट हुनुअघि उनले २१ बलमा तीन चौकाको मद्दतले १५ रन बनाएका थिए । उनको विकेट पनि राजबद्र्धनले नै लिए । राजबद्र्धनले उनलाई रियान परागद्वारा क्याच गराएका थिए । देव आउट हुँदा नेपालले ७।२ ओभरमा ३० रन बनाएको थियो ।
चौथो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको थियो । भीम चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई हर्षित राणाले बोल्ड गरेका हुन् । भीम आउट हुँदा नेपालले ८।५ ओभरमा ३५ रन बनाएको थियो । नेपालले पाँचौं विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । उनले खातासम्म खोल्न पाएनन् । उनललाई राजबद्र्धन हंगारगेकरले अभिषेक शर्माद्वारा क्याच गराएका हुन् । कुशल मल्ल आउट हुँदा नेपालले ९।६ ओभरमा ३७ रन बनाएको थियो ।
छैटौं विकेटका रुपमा नेपालका सोमपाल कामी आउट भएका थिए । उनले ३९ बलको सामना गरी १४ रन बनाएका थिए । उनी मावन सुथारको बलमा एलबीडब्लू आउट भएका हुन् । छैटौं विकेटका लागि कप्तान रोहित पौडेल र सोमपालले ५३ रनको साझेदारी गरे । सोमपाल आउट हुँदा नेपालले २३।६ ओभरमा ९० रन बनाएको थियो । नेपाली टोलीका कप्तान रोहित पौडेल सातौं विकेटका रुपमा ६५ रन बनाउँदै पेभेलियन फर्किए । उनले ८५ बलको सामना गरी सात चौका हिर्काएका थिए ।