काठमाडौं। दोस्रो चरणको आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै सरकारले आज साँझ ४ बजे १७ खर्ब १५ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदको दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दैछन्।
उनले भन्सार राजस्व र रेमिटेन्समा निर्भर रहेको अर्थतन्त्रलाई पुनर्संरचना गर्ने कार्यक्रमहरु प्रस्तुत गर्ने छन्। त्यसमा बैदेशिक लगानीलाई प्रोत्साहित गर्दै लगानी सीमा पुनरावलोकन गरिने छ।
चालु बर्षको बजेट अवास्तविक र भीमकाय छ। यसलाई ब्यापक रुपमा कटौती गर्न नसकिए पनि केही कम गर्न लागिएको हो।
८ प्रतिशतको आर्थिक बृद्धि लक्ष्यलाई साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ। मूल्य बृद्धि दर ७ प्रतिशत कायम गर्ने सरकारी लक्ष्य छ।
सरकारले बजेटमा अलिक बढि मौद्रिक नीतिको भर खोजेको छ। राष्ट्र बैंकलाई सरकारप्रति लचिलो बनाउने नीति पनि बजेटमा राखिएको स्रोतको दाबी छ।
सरकारले केही कानुनको खारेज गर्दै विद्यमान कानुनहरु पुनरावलोकन गर्ने बजेटमार्फत घोषणा गर्ने छ। कृषिमा दिइएको अनुदानमा केही कटौती हुने छ भने सामाजिक सुरक्षा भत्ता वितरणको संरचनामा पनि परिवर्तन गर्न खोजिएको छ।
यसपाली सरकारी कर्मचारीको तलब सुविधा बढ्दैन। महँगी भत्तालाई निरन्तरता दिइने छ। यसपाली जागिरेहरुका लागि आय करको सीमालाई यथावत राखिएको छ। सरकारले अघिल्लो वर्षका लागि राखेको १४ खर्ब रुपैयाँको राजस्व कठीन देखिएको छ। यस वर्ष राजस्व संकलनको लक्ष्य पनि सरकारले कम राख्ने भएको छ।