आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्यो स् प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत फैलाइने आवेग र क्षणिक उत्तेजनाले समाजलाई विकृत बनाउने खतरा रहेको बताउनुभएको छ ।

आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्यो स् प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत फैलाइने आवेग र क्षणिक उत्तेजनाले समाजलाई विकृत बनाउने खतरा रहेको बताउनुभएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीयसभामा उहाँले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई बौद्धिक वर्गले सदुपयोग गर्नेभन्दा क्षणिक आवेगमा प्रयोग हुने गरेको बताउनुभयो ।

“देशको समग्र राजनीति, आर्थिक विकासको प्रक्रिया विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ । मानिसमा विचार, सिद्धान्त, एजेन्डाभन्दा सेन्टिमेन्ट, क्षणिक आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो छ । यस्तो बेलामा बौद्धिक पक्षबाट हस्तक्षेप जरुरी छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिले वैचारिक बहसभन्दा सामाजिक सञ्जालतिर मानिसको ध्यान छ । त्यसले गर्दा मूलधारका मिडिया नै विस्थापित हुनेजस्तो देखिँदैछ । जसले हिजो लोकतन्त्रका निम्ति, राष्ट्रिय स्वाधिनताका निम्ति लामो भूमिका खेले तिनलाई नै पछि पार्ने गरी विस्थापित गर्ने गरी अराजकता पैदा गर्दैछ । यसमा वौद्धिक वर्गले ध्यान दिनु जरुरी छ ।”

अप्रिल २२ कम्युनिष्ट आन्दोलनको परिचर्चा गर्ने दिन भएको बताउनुहुँदै प्रधानमन्त्री दाहालले विगतका कमी–कमजोरीको समीक्षा गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई सही नीति, विधिअनुरुप छिट्टै ध्रुवीकरण गर्ने दिशामा लाग्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन अझै पनि जनतामा लोकप्रिय भएको बताउँदै सिद्धान्तनिष्ठ एकता आवश्यक भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नरबहादुर कर्माचार्य सम्मानित व्यक्तित्वमात्रै नभएर क्रान्तिकारी भएर बस्नुभएको स्मरण गर्नुभयो । उहाँले कर्माचार्य मुस्किल कुरालाई सहज बनाउने पारदर्शी व्यक्तित्व भएको र मजदुर आन्दोलनको प्रत्यक्ष भूमिका निर्वाह गरेको बताउनुभयो । नेकपा९माओवादी केन्द्र०का अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री दाहालले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सुरु गरेको प्राविधिक शिक्षालयलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टका नाममा धेरै पार्टी हुनु दुःखद् भए पनि कुनै नेताका कारण समस्या आएकाले आन्दोलन अगाडि बढाउन नयाँ पार्टी निर्माण गरेको बताउनुभयो । उहाँले कठिन परिस्थितीमा छुट्टै पार्टी बनाएर आन्दोलनमा लाग्नु आफ्नो विकल्प नभएको बताउनुभयो । “कम्युनिष्टका नाममा धेरै पार्टी हुनु दुःखद् हो । तर कुनै नेताका कारण समस्या आएर कम्युनिष्ट आन्दोलन नै अगाडि नबढ्ने अवस्था आउँदा सिद्धान्तअनुरुप अगाडि बढ्न कठिन हुन्छ । यस्तो अवस्थामा प्रतिकूलताका बाबजुद छुट्टै पार्टी बनाएर कम्युनिष्ट आन्दोलनमा लाग्नु राम्रो हो ।” अध्यक्ष नेपालले भन्नुभयो, “धेरै कम्युनिस्ट पार्टी छौँ, एउटै पार्टीका रूपमा हामी मिल्न नसके पनि राष्ट्र र राष्ट्रियताका विषय, देश हित र जनताका हितसँग जोडिएका विषयमा सहकार्य गरेर अगाडि जान सकिन्छ । यसका लागि समाजवादी मोर्चा बनाउन सकिन्छ । विसं २०६२र६३ पछि कम्युनिष्ट पार्टीको हिस्सा दुईतिहाइमा पुगेको थियो, २०७४ को संसद्मा दुईतिहाइ थियो । त्यसलाई बचाउन सकिएन ।”

कम्युनिष्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउने काममा लाग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले कूटनीतिक कौशलता देखाएर वर्तमान सरकार टिकाउँदै समृद्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री  नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादोन्मुख समृद्धि पूरा गर्ने दिशातिर जानु आवश्यक भएको बताउनुभयो । “कम्युनिष्ट पार्टीहरूले आत्मसमीक्षा गरेर राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नु आवश्यक छ । यसका लागि हामीहरूले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरेर जानुपर्ने आवश्यकता छ ।” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “आजको दिनमा संस्थापक कर्माचार्यबाट प्रेरणा लिँदै हामीले जनताले अपनत्वबोध हुने काम गर्नुपर्ने समय छ । पार्टीमा वैचारिक, सांस्कृतिक सङ्कट अहिलेको समस्या छ । कम्युनिष्ट आन्दोलनको उपलब्धि संरक्षणका लागि रुपान्तरणको अभियान सञ्चालन गरेर समृद्धिको लक्ष्यतिर लाग्नुपर्ने बेला आएको छ ।” मन्त्री श्रेष्ठले वैचारिक स्पष्टताका लागि नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो ।

त्यस्तै निर्मल लामा स्मृति प्रतिष्ठानका तर्फबाट पूर्वमन्त्री शशि श्रेष्ठले कम्युनिष्ट आन्दोलनको विजारोपणबाट अहिले पनि बहुमत सङ्ख्यामा कम्युनिष्ट विचारधाराका राजनीतिकर्मी रहेको बताउनुभयो । उहाँले संस्थापकले लिएको विचारलाई नेपाली मौलिकताका आधारमा जनताको हितअनुसार राष्ट्रियताको जगेर्ना गर्न एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय उत्पादकत्व वृद्धि गर्दै आयात प्रतिस्थापन गर्न जमिनको खण्डीकरणलाई रोक्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष गिरिराजमणि पोखरेलले कम्युनिष्ट आन्दोलनको सहयोगी संस्थाका रूपमा प्रतिष्ठानलाई अगाडि बढाउने बताउनुभयो । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रतिष्ठानको काममा महानगरले सहकार्य गर्ने बताउनुभयो । रासस

खबरपाटी
खबरपाटी