स्याङजा । सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ ।
अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ । वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोलारफेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका ६, अर्जुनचौपारिका पाँच, बिरुवारहरिनासका पाँच, गल्याङरकालीगण्डकी सब डिभिजनअन्तर्गतका दुई वनमा डढेलो लागिसकेको बन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए ।
एघार वटा पालिकालाई समेटेर आठवटा सब डिभिजनमार्फत वनको कार्य विभाजन गरिएको छ । पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक÷एक सब डिभिजन रहेका छन् । आँधीखोला र फेदीखोला, बिरुवा र हरिनास, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा संयुक्त गरी एक÷एकवटा सब डिभिजन रहेका छन् ।
उनका अनुसार सबैभन्दा धेरै पुतलीबजार नगरपालिकाअन्तर्गतका वन क्षेत्र जोखिममा रहेका छन् । कार्यालयले सब डिभिजनअन्तर्गत वन क्षेत्रहरुको जोखिम मूल्याङ्कन गरी सोहीअनुसार सम्भावित घटना हुन नदिन सचेतना अपनाउँदै आएको छ । पुतलीबजारका कूल २६ वन डढेलोको जोखिममा छन् ।
वालिङका २५, चापाकोटका २२, भिरकोटका १५, बिरुवारहरिनासका १२, अर्जुनचौपारिका १०, गल्याङरकालीगण्डकीका १०, आँधीखोलारफेदीखोलाका आठ गरी कूल एक सय २८ वन जोखिममा परेका छन् । तीमध्ये झन्डै आधा वनमा डढेलो लागिसकेको छ । बैसठ्ठी वटा वनमा डढेलो लाग्दा झन्डै पाँच सय हेक्टर वनमा क्षति पुगेको डिभिजन वन अधिकृत गल्छौडीँले बताए ।
‘डढेलो लाग्न सक्ने सम्भावित जोखिमका वन क्षेत्रहरु पहिचान गरी सरोकारवालाहरुबीच चेतनामूलक कार्यक्रम गरेका थियौँ’, उनले भने, ‘सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलोका कारण वनजङ्गल, वन्यजन्तु र जडीबुटी साथै पानीका स्रोतहरुमा पनि असर पारेको छ।’
डढेलोको सम्भावित जोखिम भएका ठाउँहरुमा समन्वयात्मक कार्यक्रमहरु, डढेलो सप्ताह, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई उपकरणहरु उपलब्ध गराइएको डिभिजन वन अधिकृत गल्छौडीले बताए।
वनमा जानीजानी वा दुर्घटनाका कारणले डढेलो लाग्ने गरेको छ। देशैभरि झन्डै ६४ प्रतिशत आगलागी जानीजानी, ३२ प्रतिशत दुर्घटनावश लाग्ने गरेको अध्ययनबाट पुष्टि भएको उनले जानकारी दिए ।
वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, रु ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था रहेको छ । वनको छेउछाउमा रहेका घर तथा खेतबारी भएका मानिसले झारपात पोल्दा पनि आगलागी हुने गरेको छ । जङ्गली जनावरहरु बाघ, बाँदर, मृग, मुसा, खरायो, दुम्सीलगायत जनावरबाट खेतीबाली जोगाउन पनि आगो लगाउने गरेको देखिन्छ ।
खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई ठूलो क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरु पोलिएर जिल्लाका धेरै बस्तीहरुमा खानेपानीको हाहाकार नै भएको छ ।