एउटै कार्यकालमा तीनचोटि विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री, सभामुख नयाँ चयन गरिने

एउटै कार्यकालमा तीनचोटि विश्वासको मत लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कीर्तिमान राख्ने भएका छन्

एउटै कार्यकालमा तीनचोटि विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री, सभामुख नयाँ चयन गरिने

काठमाडौं । एउटै कार्यकालमा तीनचोटि विश्वासको मत लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कीर्तिमान राख्ने भएका छन् । यसअघि माघ ६ र चैत १७ गते प्रदेश सभाबाट विश्वासको मत लिएका शर्माले चाँडै तेस्रोपटक विश्वासको मत लिने भएका छन् ।

एमालेले सरकारबाट बहिरिएसँगै समर्थनसमेत फिर्ता लिएकाले मुख्यमन्त्री शर्माले तेस्रोपटक प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने भएको हो । केन्द्रमा फेरिएको समीकरणअनुसार एमालेले सरकारमा बस्न नसक्ने जनाउँदै तीन दिनअघि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएका थिए ।

केन्द्रीय सत्ता साझेदार दलहरुबीच नै समीकरण गरी नेपाली कांग्रेसलाई सरकारमा ल्याउने तयारीसमेत गरिएको माओवादीले जनाएको छ । कांग्रेसलाई एमालेलाई दिएका तीन मन्त्रालयमा चित्त बुझाउने गरी बाँडफाँड गर्ने तयारी छ । कर्णाली प्रदेशमा नेपाली कांग्रेस ठूलो दल भएकाले नेतृत्व नै दाबी गरेको छ । ठूलो दलको हैसियतमा कि नेतृत्व दिनुपर्ने कि मन्त्रालय बढाउनुपर्ने गरी छलफल गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र गरी प्रदेशसभामा दुई तिहाइ पुग्ने भएकाले कर्णाली प्रदेशमा सभामुख पनि परिवर्तन हुने सम्भावना धेरै छ । अहिले एमालेकी नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुख छिन् । कांग्रेसले सभामुख आफूले लिने गरी सरकारमा जाने रणनीति बनाएको छ ।

खबरपाटी
खबरपाटी