आईसीआरसीको अनुरोधमा यमनका कैदीको आदानप्रदान तीन दिनका लागि स्थगित

यमनमा द्वन्द्वकालीन ८८७ जना कैदीबन्दीको अप्रिल ११ का लागि तय गरिएको आदानप्रदान तीन दिनका लागि स्थगन गरिएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका एक अधिकारीले शनिबार जानकारी दिनुभएको छ ।

आईसीआरसीको अनुरोधमा यमनका कैदीको आदानप्रदान तीन दिनका लागि स्थगित

काठमाडौं । यमनमा द्वन्द्वकालीन ८८७ जना कैदीबन्दीको अप्रिल ११ का लागि तय गरिएको आदानप्रदान तीन दिनका लागि स्थगन गरिएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका एक अधिकारीले शनिबार जानकारी दिनुभएको छ । 

सरकारी वार्ता टोलीका सदस्य माजिद फडेलले भन्नुभयो, “ठूलो सङ्ख्यामा कैदीबन्दी अदलावदली हुने भएकाले अझै केही व्यवस्था गर्न बाँकी नै छ । त्यसैले रेडक्रसले थप तीन दिन समय मागेको छ ।”

यसैबीच हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले हुथी बन्दी समितिका प्रमुख अब्दुलकादिर अल मुर्तदालाई उद्धृत गर्दै आफ्नो समूहलाई पनि आईसीआरसीले ढिलाइबारे जानकारी गराएको जनाएको छ । 

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गको सहजीकरणमा गत मार्च २० मा यमनका युद्धरत पक्षबीच स्विट्जरल्याण्डमा भएको १० दिनको वार्तापछि कैदीको आदानप्रदानको सम्झौता भएको थियो ।

सम्झौताअनुसार अप्रिल ११ देखि १३ को बीचमा तय गरिएको उडानमार्फत रिहा गरिएका बन्दीहरूलाई ओसारपसार गर्ने जिम्मेवारी आईसीआरसीको रहेको छ ।

सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकूसमूहले उत्तरी सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि सुरु भएको यमनमा वर्षौंदेखि चलेको द्वन्द्वपछि कैदी आदानप्रदान सम्झौतालाई महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।

 यस युद्धका कारण दशौं हजार मानिस हताहत भएका छन् भने हजारौंलाई थुनामा राखिएको छ भने झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेको छ । रासस

खबरपाटी
खबरपाटी