अनुसन्धानका क्रममा हुने कमजोरी सुधार गर्ने प्रतिवद्धता

कोशी प्रदेश प्रहरी कार्यालयको एकदिने अपराध अनुसन्धान कार्य सुधार गोष्ठी–२०७९ आज सम्पन्न भएको छ ।

अनुसन्धानका क्रममा हुने कमजोरी सुधार गर्ने प्रतिवद्धता

काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयको एकदिने अपराध अनुसन्धान कार्य सुधार गोष्ठी–२०७९ आज सम्पन्न भएको छ ।

गोष्ठीमा प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक तथा जुनियर प्रहरी अधिकृतको सहभागिता थियो ।

प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले अपराध अनुसन्धानकार्यलाई सुधार गर्न अनुसन्धानकर्तामा दक्षताको विकास गरी अनुसन्धानमा प्रभावकारिता हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुसन्धानकर्ता प्रहरीले त्रुटिरहित तवरबाट अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय प्रविधिको प्रयोग गरी धेरैजसो अपराध बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रविधिमैत्री हुनुको विकल्प नरहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अपराध अनुसन्धानका क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारी बढी संवेदनशील भई पारदर्शीरूपमा काम गर्नुपर्छ ।” 

अनुसन्धानकर्ता प्रहरी अधिकृतलाई नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले प्रहरीले अपराध अनुसन्धानलाई त्रुटिरहित बनाई अनुसन्धानमा देखिएका समस्यालाई दक्षताका साथ समाधान गर्ने विषयमा घटनाको प्रारम्भिक अनुसन्धान, अनुसन्धानात्मक सोधपुछ, हिरासत  व्यवस्थापन, भौतिक सबुत परीक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

साथै प्रशिक्षक र प्रशिक्षार्थीबीच अनुसन्धानका विविध पक्षको विषयमा भएको छलफलमा देखिएका तथा अनुसन्धानका क्रममा हुने कमी कमजोरीलाई सुधार गर्ने गरी प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको थियो । रासस

खबरपाटी
खबरपाटी