काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दिएको अभिव्यक्तिप्रति नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले आपत्ति जनाएको छ ।
गत चैत्र २० गते विश्वहिन्दु सम्मेलनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दुधर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति विप्लवले आपति जनाएको हो । देशको सार्वभौमिकता, राजनैतिक स्वतन्त्रता र जनभावना माथि गरिएको ठाडो हस्तक्षेप गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लल)ले सो भभिव्यक्तिमाथि घोर भत्सना गरेको छ ।
नेपालमा कस्तो राजनैतिक व्यवस्था हुने र बनाउने साथै धर्म मान्नेकि नमान्ने भन्ने अधिकार पूर्णतः नेपाली जनतामा छ । यतिवेला नेपालको दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो । तर यो व्यवस्था पनि नेपाली जनताको छनोटबाट स्थापित नभइ नयाँ जनवाद–वैज्ञानिक समाजवादलाई रोक्नका लागि भारत, अमेरिका लगायतको निर्देशनमा लादिएको व्यवस्था हो । यसको विकल्प र समाधान राजतन्त्र हुन सक्दैन । संसदीय व्यवस्थाको संकटको निकास र विकल्प जनवादी गणतन्त्र या वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुन सक्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
