भारतका पूर्व क्रिकेटर दुरानीको ८८ वर्षको उमेरमा निधन

इङ्ग्ल्याण्डविरुद्धको पहिलो शृंखला जितका नायक तथा पूर्व क्रिकेटर सलिम दुरानीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

भारतका पूर्व क्रिकेटर दुरानीको ८८ वर्षको उमेरमा निधन

काठमाडौं । इङ्ग्ल्याण्डविरुद्धको पहिलो शृंखला जितका नायक तथा पूर्व क्रिकेटर सलिम दुरानीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

बायाँ हातले आक्रामक खेल खेल्न सक्ने ब्याट्सम्यान र बलर दुरानीले सन् १९६० देखि १९७३ सम्म भारतका लागि २९ टेस्ट खेल्नुभएको थियो । 

उहाँले वेस्ट इन्डिजविरुद्धको खेलमा आफ्नो एक मात्र शतक रेकर्ड बनाउनुभएको थियो । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० का सचिव जय शाहले ट्वीटरमा लेख्नुभएको छ, “भारतीय क्रिकेट टोलीका एक दिग्गज खेलाडी सलिम दुरानीको निधनको खबरले मर्माहत भएको छु ।”

“आज हामीले भारतीय क्रिकेटको एक मुकुट गुमाएका छौं । मृतक सलीम दुरानी जीलाई हार्दिक श्रद्धाञ्जलि र उहाँको परिवारप्रति समवेदना प्रकट गर्दछु ।” 

काबुलमा जन्मिएका दुरानीले प्रथम श्रेणी क्रिकेटमा भारतीय राज्य गुजरात, राजस्थान र पूर्व सौराष्ट्रका लागि खेल्नुभएको थियो । 

उहाँको छक्का प्रहार गर्ने क्षमताका लागि प्रशंसकहरूले खेलमा उहाँलाई औधी मन पराएका थिए ।

दुरानीप्रति श्रद्धासुमन व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँसँगको भेट र कुराकानीको स्मरण गर्नुभएको छ । 

मोदीले ट्वीटरमा लेख्नुभएको छ, “मैले उहाँसँग कुराकानी गर्ने अवसर पाएको छु र उहाँको बहुआयामिक व्यक्तित्वबाट निकै प्रभावित भएको छु । उहाँलाई पक्कै पनि सदा स्मरण गरिनेछ ।”  रासस

खबरपाटी
खबरपाटी