काठमाडौं । यस वर्ष दाङमा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुशी ल्याएको छ ।“अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं”, तुलसीपुर ७ प्रसेनीका किसान नवराज सुवेदीले भन्नुभयो“यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ । ”
आँप धेरै फुलेपनि यसलाई जोगाउन भने चुनौति रहेको किसान तुलसीपुर ९ निवासी दिवेश केसीले बताउनु भयो ।“हावाहुरी, असिना पानीले फूल झार्दिने हो की भन्ने चिन्ता छ”,उहाँले भन्नुभयो“आँप धेरै फलेपनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।”
यस वर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनु भयो ।“फलफुल्ने विरुवामा एक वर्ष अनएयर र एक बर्ष अफएयर हुन्छ”,उहाँले भन्नुभयो“यस बर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।”
असिना,पानी, हावाहुरीले असर नगरेमा यस बर्ष आँप उत्पादन अत्याधिक बृद्धि हुने उहाँको भनाई छ । आँप उत्पादन भएपनि त्यसलाई बजारिकरणकालागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने बताउनु भयो । आँप बाहिरी जिल्लाबाट आयत गर्नुपर्ने अवस्था रहेको जनाउँदै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा व्यावसायिकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
दाङको पवननगर ,मानपुर र विजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ । अहिले दाङमा स्थानीय बिजु,सुपारी जातका आँप उत्पादन हुने गर्छ । त्यस्तै दसरी, माल्डा , अम्रपाली, नागपुरे ,बम्बे जातकाआँपहरु उत्पादन हुने गरेको छ । जिल्लामा बर्षेनी आठ हजार मेट्रिकटनको हाराहारीमा आँप उत्पादन हुनेगर्छ । रासस