काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तका एक जना राजनीतिक कार्यकर्ताले राज्यका जनतामाथि सङ्घीय सरकार र उसको सेनाले अत्याचार गरेको समग्र राज्यलाई आफ्नो उपनिवेशको रूपमा व्यवहार गरेको आरोप लगाएका छन् ।
राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२ औँ बैठकमा जे सिन्ध मुत्ताहिदा महजका सज्जाद शारले सिन्धीले झेल्नुपरेका मानव अधिकार उल्लङ्घनलगायत अमानवीय व्यवहारबारे ध्यानाकर्षण गराउँदै परिषद्ले सिन्धको स्थितिबारे तत्काल कदम चाल्नुपर्नेमा जोड दिए ।
विगत ७५ वर्षदेखि सिन्धका जनता दासत्व, अपमान, राजनीतिक उत्पीडन र आर्थिक शोषणबाट पीडित भएका, सङ्घीय सरकारले सिन्धलाई उपनिवेशको रूपमा व्यवहार गर्दै सिन्धीहरूलाई उनीहरूको सांस्कृतिक,भाषिक एवम् राजनीतिक स्वतन्त्रताबाट वञ्चित गरिएको आरोप शारले लगाए ।
पाकिस्तानले सिन्धको आर्थिक स्रोत, खनिज भण्डार, राष्ट्रिय सम्पदा, नदी र समुद्रको चरम दोहन गरिरहेको, जनसाङ्ख्यिक परिवर्तनलाई जारी राखेको, पत्रकार, लेखक, कवि र मानवअधिकारकर्मीलगायत सिन्धका राजनीतिक कार्यकर्तालाई इन्टर सर्भिस इन्टेलिजेनस ९आइएसआई० द्वारा बेपत्ता पारिएको गुनासो शारले गरे ।
सयौँ राजनीतिक कार्यकर्ता आइएसआईको यातना गृहमा तड्पिरहेका, कैयौँलाई बेपत्ता पारिएको, केहीलाई ज्युँदै जलाइएको, धार्मिक अल्पसङ्ख्यकहरूको अधिकार उल्लङ्घन भएको, दण्डहीनताले प्रश्रय पाएको तथा न्यायप्रणालीमा पक्षाघात भएकाले पीडित पक्षले न्याय नपाएको कारुणिक कथा सभामा शारले सुनाए । रासस