काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको अलेप्पो विमानस्थलमा इजरायलले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
“अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणका कारण संयुक्त राष्ट्रसङ्घीय मानवीय वायु सेवाको एउटा उडान रद्द गरिएको र विमानस्थलमा भएको भौतिक क्षतिप्रति राष्ट्रसङ्घका महासचिव चिन्तित हुनुहुन्छ,” गुटेर्रेसका उपप्रवक्ता फरहान हकले भन्नुभयो ।
महासचिवले सबै पक्षलाई लागू हुने गरी अन्तर्राष्ट्रिय मानवीय कानूनलगायत अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आ–आफ्नो दायित्वको सम्मान गर्न सचेत गराउनुभएको छ । उहाँले नागरिकलाई हानि पु¥याउन सक्ने र नागरिक पूर्वाधारमा क्षति पु¥याउन सक्ने आक्रमणबाट बच्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।
यसैबीच सिरियामा भएको ड्रोन आक्रमणमा परी एक अमेरिकीको मृत्यु भएपछि भएको अमेरिकी हवाई आक्रमणमा इरान समर्थित ११ लडाकू मारिएका छन् । उक्त घटनामा अन्य छ जना घाइते भएका छन् ।
उत्तरपूर्वी सिरियाको हसाकेह नजिकै रहेको अमेरिकी नेतृत्वको गठबन्धनको आधार शिविरमा रहेको मर्मत सम्भार केन्द्रमा कामिकेज ड्रोनले आक्रमण गर्दा एक अमेरिकी ठेकेदारको मृत्यु हुनुका साथै अर्का एक ठेकेदार र पाँच अमेरिकी सैनिक घाइते भएको पेन्टागनले जनाएको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा आफूले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरसँग आबद्ध समूहले प्रयोग गर्दै आएका सुविधामाथि आज राति हवाई आक्रमण गर्न आदेश दिएको बताउनुभएको छ ।
अस्टिनले भन्नुभयो, “आजको आक्रमण र सिरियामा आईआरजीसीसँग सम्बन्धित समूहहरूले हालै गठबन्धन सेनाविरुद्ध गरेको शृङ्खलाबद्ध आक्रमणको प्रतिक्रियामा हवाई आक्रमण गरिएको हो ।
विशेष गरी इराकसँगको सीमा र देइर एजोर प्रान्तको युफ्रेटिसको दक्षिण र पश्चिममा इरान समर्थित लडाकूको सिरियाभरि ठूलो उपस्थिति छ । सोही क्षेत्रमा पछिल्लो अमेरिकी आक्रमण भएको हो ।
बेलायतस्थित निगरानी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले अमेरिकी आक्रमणमा दुई सिरियालीसहित ११ जनाको मृत्यु भएको जनाएको छ ।
संस्थाका प्रमुख रामी अब्देल रहमानले भन्नुभयो, “अमेरिकी हवाई आक्रमणमा देइर एजोर शहरभित्र रहेको एक हतियार डिपोलाई लक्षित गरी गरिएको आक्रमणमा छ जना इरान समर्थक लडाकूको मृत्यु भएको छ भने अन्य दुई लडाकू मारिएका छन् ।
इरान समर्थित समूहले शुक्रबार बिहान अल–मायादीन शहरनजिकै तीनवटा क्षेप्यास्त्र प्रहार गरेको अब्देल रहमानले जानकारी दिनुभयो ।
सिरियाको सबैभन्दा ठूलो तेल खानी अल–ओमारमा दुईवटा क्षेप्यास्त्र खसेको र तेस्रो क्षेप्यास्त्र नजिकैको एक सर्वसाधारणको घरमा खसेको उनले बताए ।
संयुक्त राज्य अमेरिकाले इस्लामिक स्टेट समूह ९आइएस० को अन्तर्राष्ट्रिय गठबन्धनको अवशेषको एक भागको रूपमा उत्तरपूर्वी सिरियामा लगभग नौ सय सैनिकहरू तैनाथ गरेको छ । रासस