कमलादीमा लक्ष्मी बैंक कार्यालय छेउमै भेटियो टुकुचा

महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन भनेको थियो

कमलादीमा लक्ष्मी बैंक कार्यालय छेउमै भेटियो टुकुचा

काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्ने अभियान निरन्तर जारी राखेको छ । शनिबार टुकुचा खोला खोज्न महानगरपालिकाको टोली डोजरसहित कमलादीस्थित लक्ष्मी बैंकको कार्यालय नजिक पुगेको थियो । त्यहाँ उत्खनन गरेर खोला पत्ता लगाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

१२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकाल्दै काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तरतर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन भनेको थियो ।

इतिहास र विभिन्न अध्ययनका प्रतिवेदनहरु अनुसार टकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् ।

बिहीवार १ नम्बर वडाको जयनेपाल हलको कम्पाउण्डमा १५ फिट गहिरो खनेर उत्खनन गरेको टुलुचा शुक्रबार र शनिबार पनि निरन्तर चलेको महानगरले जनाएको छ । काठमाडौ महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार छोपिएको टुकुचा खोज्न महानगर प्रहरी र ईन्जिनियरको टिम निरन्तर लागिरहेको छ । उनले टुकुचा छोपिएको ४५० मिटर उत्खनन नसकिएसम्म निरन्तर काम हुने बताए ।

खबरपाटी
खबरपाटी