नवौँ राष्ट्रिय खेलकुद : पोखरामा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट

प्रतियोगितामा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलका झन्डै आठ हजार खेलाडीले भाग लिने छन्

नवौँ राष्ट्रिय खेलकुद : पोखरामा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट

काठमाडौं । गण्डकी प्रदेशमा आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी १४ वटा खेलका लागि खेलाडी प्रशिक्षण र छनोट सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कार्यक्रमको उद्घाटन गरे । 

पहिलो चरणमा भदौ ३ गतेदेखि १४ वटा खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङ्जा र बाग्लुङमा सञ्चालन भएको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताए । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्यान्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल रहेका छन् । 

खेलाडी तथा खेल सङ्घका पदाधिकारीलाई परिषद्ले उपलब्ध गराएको खेल सामग्री, स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अर्थमन्त्री बरालले खेलाडीको प्रर्दशनले नै प्रदेशको शिर उच्च बनाउने बताए । प्रतियोगिता सम्पन्न गर्न आर्थिक हिसाबले कुनै अभाव नहुने उनले आश्वासन दिए । 

जिल्ला छनोटपछि पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । प्रतियोगितामा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलका झन्डै आठ हजार खेलाडीले भाग लिने परिषद्ले जनाएको छ । गण्डकी प्रदेशबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरू भदौ २६ देखि असोज २६ गतेसम्म बन्द प्रशिक्षणमा राखिनेछन् । 

यसअघि दोस्रो राष्ट्रिय खेलकुद पोखरामा भएकोमा ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद फेरि पोखरामा हुन लागेको हो । 

खबरपाटी
खबरपाटी