काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गर्नुभएको छ।
मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न मन्त्री चौधरीले कोल्ड स्टोरेजहरूको निरीक्षण गर्नुभएको हो।
मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्थाबारे जानकारी लिन उहाँ अनुगमनमा पुग्नुभएको थियो।
अनुगमनका क्रममा उहाँले कोल्ड स्टोरेजमा मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गर्नुभयो।
मन्त्री चौधरीले उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना आवश्यक रहेकोमा जोड दिनुभयो।
मासुजन्य वस्तुको गुणस्तर र खाद्य सुरक्षा कायम गर्न सम्बन्धित निकाय तथा व्यवसायीले आवश्यक मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाइ छ।