काठमाडौं – एनपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोली जारी संस्करण शान्दार लयमा छन्। समान अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबीचको विजेताले शीर्ष ४ मा स्थान पक्का गर्नेछ।
पहिलो खेल गुमाएको काठमाडौं गोर्खाज त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै एनपीएल अंक तालिकाको दोस्रो स्थानमा छ। ५ खेलमा ४ जित र १ हारसहित ८ अंक जोडेको काठमाडौं क्वालिफायर्समा स्थान सुरक्षित गर्न चाहन्छ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको काठमाडौंले त्यसपछिका खेलहरुमा कर्णाली याक्सलाई ४ विकेट, विराटनगर किङ्सलाई ९ विकेट, लुम्बिनी लायन्सलाई ३६ रन र पछिल्लो खेलमा चितवन राइनोजलाई १० रनले हराएको हो।
तेुस्रो स्थानको सुदूरपश्चिमसँग बराबरी अंक भए पनि १ खेल कम खेलेको काठमाडौं १ दशमलव १६८ को नेट रन रेट सहित बलियो स्थितिमा छ। अबको १ मात्र जितले पनि उसको शीर्ष २ मा स्थान पक्का हुनेछ।
यता, २ पटकको उपविजेता सुदूरपश्चिम यसपटक उतार चढावपूर्ण स्थितिमा छ। पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले हारेको सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गर्यो। तर तेस्रो खेलमा फेरि विराटनगरसँग ३५ ले हारेको उसले त्यसपछिका खेलमा चितवनलाई ५ विकेट, कर्णालीलाई ३९ रन र पछिल्लो खेलमा जनकपुरलाई २७ रनले हराएको थियो। यसरी ६ खेलमा ४ जित र २ हार सहित ८ अंक जोडेको सुदूरपश्चिमलाई अबको जितले प्लेअफमा सुरक्षित राख्नेछ। यी दुई टोलीको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् । मिड टेबलमा कडा प्रतिस्पर्धा गरिरहेका यी दुईबीचको खेल प्लेअफ समिकरणका लागि महत्वपूर्ण हुनेछ। २ खेल बाँकी रहेको चितवनलाई अबका खेलमा जितको विकल्प छैन भने अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितसँगै अन्य टोलीको नतिजामा समेत निर्भर हुनुपर्ने अवस्था छ।
सिकन्दर राजाको कप्तानीमा रहेको चितवनले स्थिर प्रदर्शन गर्न सकेको छैन। आफ्नो पहिलो खेलमा विराटनगरलाई ८ रनले हराएको चितवनले वर्षा बाधक बन्दा लुम्बिनीसँग अंक बाँड्यो। तेस्रोमा सुदूरपश्चिमसँग ५ विकेटले हारेको उसले त्यसपछि पोखरालाई ३० रनले हराए पनि पछिल्लो खेलमा काठमाडौंसँग १० रनको हार व्यहोरेको थियो। ५ खेलबाट ५ अंक जोडेको चितवनलाई अबका २ खेलमा जितको आवश्यकता छ।
कर्णालीसँग १९ रनको हारबाट प्रतियोगिता थालनी गरेको जनकपुरले त्यसपछिका २ खेलमा काठमाडौंलाई ८ विकेट र पोखरालाई ९ रनले हराउँदै पुनरागमन गरे पनि पछिल्ला ३ खेलमा अंक जोड्न सकेको छैन।
अन्तिम बलसम्म पुगेको खेलमा विराटनगरसँग २ रनको हारले जनकपुरलाई सिंगो समिकरणमै भारी परेको छ। लुम्बिनीसँग १६ र सुदूरपश्चिमसँग २७ रनले हारेपछि जनकपुर प्लेअफको समीकरणमा कठिन अवस्थामा पुगेको हो। ५ खेलबाट ४ अंकमात्र जोडेको उसलाई अबको जितले ६ अंकमा पुर्याउने छ। तर मध्यतालिकामा प्रतिस्पर्धामा रहेका अन्य टोलीले २ खेल खेल्न बाँकी रहेको अवस्थामा जनकपुरलाई आफ्नो जितमात्र पर्याप्त हुनेछैन।
यो खेल बेलुका ५ बजे टियु मैदान किर्तिपुरमा सुरु हुने तालिका रहेको छ। हिजो भएको अन्तिम खेलमा साविक विजेता लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान सुरक्षित राखेको छ।