नेपालमा अहिले ‘अर्नब’ चक्रवातको प्रभाव,आज राति पानी पर्ने क्रम थप बढ्ने

नेपालमा अहिले ‘अर्नब’ चक्रवातको प्रभाव,आज राति पानी पर्ने क्रम थप बढ्ने

काठमाण्डौ – नेपालमा अहिले ‘अर्नब’ चक्रवातको प्रभाव छ । देशका धेरैजसो ठाउँमा हल्का वर्षा भैरहेको छ भने कतै मध्यम वर्षा अनि उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको छ ।

आज दिनभर निरन्तरजसो झरी परेकोमा यो बढ्दो छ । काठमाण्डौमा गएरातिदेखि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । अरु ठाउँमा पनि पानी परिरहेको छ ।

आज राति पानी पर्ने क्रम थप बढ्ने र एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ । ठूलो पानी पर्दा विभिन्न नदी तथा खोलामा बाढी आउनुका साथै पहाडी र तराई क्षेत्रमा डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी तथा आसपासका क्षेत्रमा पानीको सतह उल्लेख्य बढ्ने अनुमान छ ।

भोलि पनि यी नदीका जलाधार क्षेत्रमा वर्षा हुने र केही ठाउँमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ । यस्तै केही राजमार्गमा पहिरो र बाढीको जोखिम रहेकोले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ  । पहाडी तथा भिरालो ठाउँ भएका राजमार्ग खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने र सडक भासिने सम्भावना रहेकोले नदी किनारका सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेकाे छ  ।

विशेषगरी नारायणगढ–मुग्लिन सडक खण्ड, कोशी तथा सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो जाने क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग र बागमती जलाधार क्षेत्रसँग जोडिएका सडक खण्डमा जोखिम बढी रहेकोले यी सडकमा यात्रा गर्दा सावधानी अपनाउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको आग्रह छ ।

सडक डिभिजन भरतपुर चितवनले पनि मुग्लिन–नारायणगढ सडकमा पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न सम्बन्धित सबैलाई सुझाव दिएको छ । मुग्लिन–नारायणगढ सडकबाट यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा अवस्था बुझेर मात्रै यात्रा गर्न सम्पूर्ण चालक तथा यात्रुलाई सडक डिभिजन भरतपुरले अनुरोध गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार भोलि बेलुकापछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुँदै जानेछ । त्यसपछि वर्षाको गतिविधि पनि क्रमिक रूपमा कम हुनेछ । अर्नबको प्रभाव कम हुने भए पनि ठाउँ विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन मौसमविद् डेभिड ढकालले आग्रह गर्नुभएको छ ।

पर्सि आइतबारदेखि भने मौसम खुल्ने सम्भावना छ ।

खबरपाटी
खबरपाटी