काठमाडौँ - नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। सभापति थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
शपथलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ। गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँको खुलामञ्चमा सम्पन्न १५ औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।
त्यसैगरी महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका थिए। यसैगरी विभिन्न क्लष्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन्।
काँग्रेसले चारजना केन्द्रीय सदस्यहरूको भने शपथ रोकेको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले चार केन्द्रीय सदस्यको शपथ रोकेको हो। नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन्। शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्ने भएको छ।