माग पूरा गर्न सरकारलाई डा. गोविन्द केसीले दिए थप दुई दिनको अल्टिमेटम

माग पूरा गर्न सरकारलाई डा. गोविन्द केसीले दिए थप दुई दिनको अल्टिमेटम

काठमाडौँ - चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, जवाफदेहिता तथा सुशासनको माग राख्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्ना माग पूरा गर्न सरकारलाई दिइएको अल्टिमेटमको समय दुई दिन थप गरेका छन्।

एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले पूर्वघोषित सात दिने अल्टिमेटमको अवधिभित्र दशैँको सार्वजनिक बिदा परेकाले सरकारलाई मागहरू सम्बोधन गर्न थप दुई दिनको समय दइएको जानकारी दिएका हुन्।  यसअघि उनले गत कात्तिक २ गते सरकारलाई सात दिनको अल्टिमेटम दिएका हुन्। 

डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, जवाफदेहिता, सुशासन तथा सामाजिक न्यायका पक्षमा उठाइएका मागहरूमाथि सरकारको बेवास्ता र प्रहारविरुद्ध सत्याग्रहसहितको आन्दोलनका लागि दिइएको अल्टिमेटम अवधिमा दशैँ बिदा परेकाले थप दुई दिनको समय दिइएको छ।’

विस्तार गरिएको समयसीमाभित्र पनि आफ्ना मागहरू सम्बोधन नभए सत्याग्रह (आमरण अनशन) सहितका कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य हुने डा. केसीले चेतावनी दिएका छन। साथै, आन्दोलनका कारण उत्पन्न हुन सक्ने जुनसुकै विषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

डा. केसीले लामो समयदेखि स्वास्थ्य र चिकित्सा शिक्षामा हुने व्यापारीकरण, अनियमितता र कुशासनको विरोध गर्दै विभिन्न मागसहित पटक-पटक सत्याग्रह गर्दै आएका छन्।

खबरपाटी
खबरपाटी