काठमाण्डौ – अहिले सामाजिक सञ्जालमा फेरि यही असोज १७ गतेदेखि लगातार ३ दिन ठूलो वर्षा हुने चर्चा र हल्ला फैलिएको छ ।
गएको बुधबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा झरी परेको थियो । लगत्तै अर्को ठूलो वर्षाबारे हल्ला फैलिएको हो ।
तर यस्ता हल्लाको पछि नलाग्न र मौसमसम्बन्धी अध्यावधिक सूचना तथा बुलेटिन हेर्न जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अबको मौसमबारे चासो र खोजी बढेपछि आधिकारिक निकायले अहिले आइरहेका हल्ला निराधार रहेका भन्दै खण्डन समेत गरेको छ । महाशाखाले तत्काल त्यस्तो कुनै पनि ठूलो वर्षाको पूर्वानुमान नरहेको र तथ्यहीन खबरकोपछि नलाग्न अनि यस्ता अफवाह नफैलाउन पनि अनुरोध गरेको छ ।
देशका धेरै ठाउँमा आज बुधबार पनि मौसम सफा छ । अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ । गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो ।
अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी र बागमती प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।