काठमाडौं - युइएफए नेसन्स लिगमा गएराति भएका खेलमा साविक विजेता स्पेनले शानदार जित दर्ता गरेको छ भने इंग्ल्यान्डले पनि समूह चरणमा पहिलो जित हात पारेको छ।
सेभियामा भएको खेलमा स्पेनले क्रोएसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो। खेलको दोस्रो मिनेटमै लामिन यमालको गोलबाट स्पेनले अग्रता लिएको थियो।
तर, डिओन बेलजोले क्रोएसियाका लागि बराबरी गोल फर्काए। लगत्तै मार्क पुबिलले हेडरमार्फत गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। यमालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता फराकिलो बनाए भने खेलको अन्त्यतिर निको विलियम्सले गोल गर्दै ४-१ को सहज जित सुनिश्चित गरे।
अर्को खेलमा थॉमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले चेकियालाई उसैको मैदानमा २-० ले पराजित गर्यो। पहिलो हाफको मध्यतिर चेकियाका पाभेल सुल्क रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो।
दोस्रो हाफको सुरुवातमै ट्रेन्ट अलेक्ज्यान्डर-आर्नोल्डको क्रसमा एन्थोनी गोर्डनले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि कप्तान ह्यारी केनले गोल गर्दै टोलीलाई २-० को जित दिलाए। समूह B-1 मा स्विट्जरल्यान्डले स्कटल्यान्डलाई ३-० ले पराजित गर्यो। ११ औँ मिनेटमा ज्याक हेन्ड्रीले रातो कार्ड पाएपछि स्कटल्यान्ड १० खेलाडीमा सीमित भएको थियो। यही समूहको अर्को खेलमा स्लोभेनियाले उत्तर म्यासेडोनियालाई २-० ले हरायो।
समूह C1 र C4: अल्बानियाले सान मारिनोलाई ३-० तथा आइसल्यान्डले लक्जमबर्गलाई ३-० ले हराए भने समूह C3: स्लोभाकियाले काजाकिस्तानमाथि २-१ को कठिन जित दर्ता गर्यो।