काठमाडौं – बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ।
पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए।
हिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उनले बताए। यसैबीचपहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। बेपत्ता भएका अन्नपूर्ण–५ का ७५ वर्षीय ओमबहादुर तिलिजाको हिजो शव फेला परेसंगै मृतकको संख्या ७ पुगेको हो। दुई जना अझै बेपत्ता भएका छन्। पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर, किन्दुका १०६ जनालाई उद्धार गरिएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएका उनीहरुलाई शिख, घारको अस्थायी शिविर राखिएको छ। सडक यातायात सम्पर्कबिच्छेद भएकाले अस्थायी शिविरमा बेनीबाट हेलिकप्टरबाटै खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामान ढुवानी गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए।
पहिरोमा बेपत्ता भएकी बेनी नगरपालिका–३ छेपारेकी कुमारी वली विकको खोजी जारी छ। अन्नपूर्ण–३ की शिलकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण–८ का सविन गर्बुजा, मालिका गाउँपालिका–३ का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण–५ की जेनी पुर्जाको शव भेटिएको छ।
पहिरोबाट म्याग्दी जिल्लाभर २०० घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए। पहिरोका कारण अवरुद्ध बनेको बेनी–बागलुङ सडक आंशिक रुपमा सञ्चालनमा आएको छ। बेनी–दरबाङ सडकको बेनी–तातोपानी खण्डमा एकतर्फी यातायात सञ्चालन गर्न मिल्नेगरी मर्मत गरिएको छ।
म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका हँुदै मुस्ताङको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको बेनीदेखि गलेश्वरसम्म सडक खुलेको छ। जिल्ला सदरमुकाम बेनीमा सञ्चार र विद्युत् सेवा आंशिक रुपमा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा अवरुद्ध छ । म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला राष्ट्रिय राजमार्गसँग सम्र्पकबिच्छेद भएकाले इन्धन अभाव हुनसक्ने देखिएकाले मौजुदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न पेट्रोलपम्पलाई प्रशासनले निर्देशन दिएको छ।
गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाखका रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ। साथै, किरिया खर्चबापत रु २५ हजार दिने भएको छ।
हिजो बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए।