लगातारको वर्षाले अवरुद्ध सडक खुलाउन अझै समय लाग्ने

लगातारको वर्षाले अवरुद्ध सडक खुलाउन अझै समय लाग्ने

काठमाण्डौ – लगातारको वर्षाले अवरुद्ध सडक खुलाउन अझै समय लाग्ने भएको छ ।

निरन्तरको झरी नरोकिएकाले आज पनि सडक खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ । संघीय राजधानी काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ चार दिनअघिदेखि नै बन्द छन् । धादिङको कृष्णभीरमा एकतर्फी सडक खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाडी चलाउन रोक लगाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाडी चल्न सकेका छ्रैनन् । चितवनतर्फका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकाले यात्रु तथा गाडी चालकलाई अवस्था बुझेर मात्रै यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै तनहुँ खण्डको पृथ्वी राजमार्गमा मौरीबास, मादीपुल, घाँसीकुवा, मुसेखोला, छिर्कने, विमलनगर, डुम्रे र ऐनापहरालगायतका क्षेत्रमा पहिरो खसेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको माम्ती, पिप्ले, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायतका क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध छ ।

सिन्धुलीको सुनकोशी क्षेत्रमा बाढीले सडक कटान गरेको छ । तमोर करिडोरअन्तर्गत छरुवाखोला, नावाखोला र रानीगाउँ क्षेत्रमा पनि सडक अवरुद्ध  छ । राप्ती राजमार्गको कपुरकोट–खारखोला खण्ड, भालुवाङ–चकचके–लिवाङ सडक तथा कर्णाली राजमार्गका गगनेखोला, नाग्म–जुम्लाको राँका क्षेत्र आसपासका सडक पनि पहिरोबाट प्रभावित छन् ।

गुल्मी, पाल्पा, रोल्पा र प्युठानका सडकमा पहिरो तथा कटानका कारण यातायात प्रभावित भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको छ ।

प्रहरीले बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्ग, टोखा–छहरे सडक, कान्ति राजमार्ग, भैंसे–भीमफेदी–देउराली–कुलेखानी सडक, बीपी राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक, राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गका जोखिमयुक्त ठाउँमा अत्यावश्यकबाहेक रात्रीकालीन आवागमनमा यसअघि नै रोक लगाएको छ । 

 

खबरपाटी
खबरपाटी