काठमाडौं - लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।
हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन्। शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए।
उनले भने ‘बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ।’
बागलुङका विभिन्न सडक अवरुद्ध
लगातारको वर्षाका कारण बागलुङका दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ। दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित विभिन्न शाखा तथा ग्रामीण सडकमा बाढीपहिरोले क्षति पुर्याउँदा यातायात सेवा प्रभावित बनेको हो।
गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट–ताराखोला सडकको गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले पक्की सडक कटान गरेपछि शुक्रबारदेखि सडक अवरुद्ध भएको छ। बागलुङ बजारदेखि तित्याङ, रायडाँडा हुँदै भकुण्डे जोड्ने सडकको बागलुङ नगरपालिका–३ गौडाकोटमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१ रामरेखास्थित गणेशथान घुम्तीदेखि निरयघाट जाने सडकमा पहिरो खस्दा सडक बन्द भएको छ।
पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सडकसमेत अवरुद्ध भएको छ। बागलुङ बजारदेखि दब्ल्याङ हुँदै बलेवा–कुश्मिसेरा जोड्ने मुख्य सडक अवरुद्ध भएपछि दक्षिण बागलुङको यातायात सम्पर्क टुटेको छ। बागलुङ बजारदेखि मुलपानी–तितौरे जाने सडकको तल्लो पात्लेमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बरेङ जाने सडक, निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने साना सडक तथा ढोरपाटनका ग्रामीण सडकमा समेत ठाउँठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङकाअनुसार वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध भएका छन्। अवरुद्ध सडक खुलाउन सडक आयोजनाका प्रमुख, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी तथा स्थानीय तहसँग समन्वय भइरहेको छ। लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा जिल्लाका विभिन्न ग्रामीण बस्तीको सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ।
बर्दियामा वर्षाले तीन घरमा क्षति
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा तीन घरमा क्षति पुगेको छ। घरको भित्ता भत्किँदा बाँसगढी नगरपालिका–८ रेशम टोलमा एउटा बङ्गुरसमेत मरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानबाट ठूलो क्षति हुन नदिन जिल्ला प्रशासन र प्रहरीले उच्च सतर्कता अपनाएको छ। प्रहरीलाई पूर्वतयारी अवस्थामा राखिनुका साथै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन गाउँगाउँमा माइकिङसमेत गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए।
दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण बाँसगढी नगरपालिका–८ रेशम टोलका जलबहादुर चौधरीको चारकोठे इँटा, माटोको कच्ची घरको दक्षिणतर्फको भित्ता भत्किएको छ। भित्ता भत्किँदा घरसँगै जोडिएको बङ्गुरको खोर च्यापिएर खोरमा रहेको बङ्गुर मरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, मधुवन नगरपालिका–५ का खिरबहादुर गुरुङको चारकोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता भत्किएको छ भने बारबर्दिया नगरपालिका–९ खैरेनीमा दुईकोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको भित्ता भत्किएको छ। उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
निरन्तर वर्षाका कारण स्थानीय कुला तथा नालामा पानीको सतह बढेपछि गुलरिया नगरपालिका–१ छेदापुर चोकमा पाँचवटा कच्ची घरमा पानी पसेको छ। पानी घरभित्र पसेको जानकारीपछि प्रहरी र वडाका जनप्रतिनिधिको सहयोगमा प्रभावित परिवारलाई उद्धार गरेर छेदापुरस्थित श्री स्वामी प्रमानन्द प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।
त्यसैगरी, बढैयाताल गाउँपालिका–१ दैलेखी टोलकी गोमा विकको कच्ची घरमा पनि पानी पसेको छ। वर्षाका कारण प्रभावित परिवारलाई घरका सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। बर्दियामा कर्णाली, गेरुवा र भादा नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा डुबानको जोखिममा पर्ने गरेका छन्। नदीको जलसतह खतराको चिह्न पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क गराउन साइरन बजाउने गरिएको छ।
कर्णाली नदीको चिसापानी जलसतह मापन केन्द्रमा १० मिटर आठ सेन्टिमिटर जलसतह पुगेपछि खतरा तह पार गर्ने जनाइएको छ। हाल उक्त केन्द्रमा नदीको जलसतह खतरा तहभन्दा तल रहेको गेज रिडर पार्वती गुरुङले जानकारी दिइन्। वर्षा निरन्तर भइरहेकाले नदीको जलसतह भने बढिरहेको उनको भनाई छ।
त्यसैगरी, बबई नदीको जलसतह पनि खतरा तहभन्दा तल रहेको चेपाङस्थित जलसतह मापन केन्द्रका गेज रिडर मोहनलाल जैसीले जानकारी दिए।
कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
यसैगरी, यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला, एस मोड र सुर्खेतको बराहताल गाउपालिका–७ को औलिसेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरुद्ध भएको छ।
त्यस्तै, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा गएको पहिरोले मध्यपहाडी राजमार्ग, सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा गएको पहिरोले राप्ती राजमार्ग बन्द भएको प्रवक्ता राठौरले बताए। उनका अनुसार सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ को र्यालेमा गएको पहिरोले सुर्खेत–सल्यान र त्रिवेणी गाउँपालिका–३ ढुङ्गेबगरमा गएको पहिरोले लुहाम–कालीमाटी सडकखण्ड अवरुद्ध भएका छन्।
त्यसैगरी, जाजरकोट छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोट तिलागुफा नगरपालिका–१ भिग्म, जुम्ला तातोपानी गाउँपालिका–१ बाइराँका र राँकागाउँ बीचको सडकखण्ड, मुगु रारा छाँयानाथ नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्ड पनि बन्द भएको यद्यपि सडक सञ्चालनका लागि पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट सल्यान र सुर्खेतबाट जेसिबी तथा स्काभेटरलगायतका उपकरण पठाएको प्रवक्ता राठौरले बताए।