भारी वर्षाको पूर्वानुमानपछि अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन

भारी वर्षाको पूर्वानुमानपछि अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ – देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएका वेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिमको सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहन अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई  निर्देशन दिएको छ।  

मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले बुधबार विज्ञप्ति जारी गरी निरन्तरको वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले तयारी अवस्थामा रहन भनेको छ। 

मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति र औषधि तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न अनुरोध गरेको छ। साथै बिरामी स्थानान्तरण तथा रेफरल सेवालाई सहज र प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउनुका साथै आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी सहजीकरण गर्न भनिएको छ। अतिरिक्त जानकारी र सहयोगका लागि मन्त्रालयको नि:शुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।  

जल तथा मौसम विज्ञान विभाग एवम् विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारीसम्म वर्षाको अनुमान गरेका छन्।

खबरपाटी
खबरपाटी