काठमाडौं । नेपाल हस्तकला व्यवसायी महासंघले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित छलफलमा महासंघका प्रतिनिधिहरुले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिएको अनुभूति भएको उल्लेख गर्दै सरकारसँग आवश्यक सबै प्रकारको सहकार्य गर्न इच्छुक रहेको बताएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला सम्बन्धी नीति निर्माण, परम्परागत कला संरक्षण, रोजगारी सिर्जना तथा सीपको पुस्तान्तरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले निजी–सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्डगठन गर्ने महासंघको प्रस्तावप्रति पनि सकारात्मक प्रतिक्रिया जनाउनुभयो।
महासंघले हाल मंसिर २८ गते आफ्नै पहलमा मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय स्तरमा मनाउन माग गरेको थियो। सोही मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले गृह मन्त्रालयसँग तत्काल समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउन आफ्नो टोलीलाई निर्देशन दिनुभएको छ।
यस्तै, हस्तकला सामग्री निर्यातमा हाल स्वघोषणाको आधारमा भइरहेको प्रक्रियाको सट्टा बिजक मूल्यांकन प्रणाली लागू गर्ने सुझावलाई सरकारले कार्यान्वयन गर्ने जनाएको छ। यसबाट राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, हस्तकला सामग्री निर्यातमा दिइँदै आएको पाँच प्रतिशत प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको विषयलाई पुनः निरन्तरता दिने विषयमा पनि प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ।
महासंघले उद्योग विभाग परिसरमा निर्माण सम्पन्न भइसकेको सार्क हस्तकला विकास केन्द्र को भवन हाल अन्य कार्यालयले प्रयोग गरिरहेको भन्दै उक्त भवन हस्तकला क्षेत्रकै प्रयोजनका लागि फिर्ता गर्न माग गरेको थियो। प्रधानमन्त्री शाहले सो विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलमा काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने, सातै प्रदेशमा हस्तकला सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तथा निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माणका लागि समझदारी गर्ने विषयमा पनि सकारात्मक छलफल भएको थियो।
महासंघका पदाधिकारीहरूले परम्परागत सीप र कलाको संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउने लगायतका विभिन्न माग पनि राखेका थिए।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठलगायतको सहभागिता रहेको थियो।