काठमाडौँ - मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी पर्याप्त नरहेको भन्दै राष्ट्रिय सभामा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा जरुरी सार्वजनिक महत्त्वको विषयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावक राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी नेता कमला पन्त छिन्।
कांग्रेसका सचेतक पदमबहादुर परियार, नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिष्टपार्टीकी प्रमुख सचेतक मदनकुमारी शाह तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद पूजा चौधरीले समर्थन गरेका छन्।
प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहँदा सरकारको पूर्वतयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग जवाफ मागिएको छ।