महिला उद्यमीको विकासमा सरकारले आवश्यक सबै सहयोग गर्छ : प्रधानमन्त्री शाह

महिला उद्यमीको विकासमा सरकारले आवश्यक सबै सहयोग गर्छ : प्रधानमन्त्री शाह

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको बृहत् छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोग्दै आएका व्यवधान हटाउन सरकार सक्रिय रहेको बताउँदै उनीहरूले उत्पादन गरेका वस्तुहरू देशका प्रमुख पर्यटकीय स्थलमा प्रवर्द्धन गर्ने वातावरण तयार पारिने जानकारी दिनुभयो।

छलफलका क्रममा महिला उद्यमी महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, महिला उद्यमीका वस्तु तथा सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तार, व्यापार मेला, प्रदर्शनी, बिजनेस म्याचिङ (बी–टु–बी) तथा निर्यात प्रवर्द्धन कार्यक्रममा अनिवार्य सहभागिताको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका थिए।

महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन सहयोगको मागसमेत गरिएको थियो। सो प्रस्तावलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा स्वीकार गर्दै उक्त ब्रान्डलाई शीघ्र बजारमा ल्याउन आवश्यक पहल गर्न आग्रह गर्नुभयो।

महासंघले आफ्नो वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको माग गर्दै सार्वजनिक खरिद ऐन तथा नियमावलीमार्फत महिला उद्यमीका उत्पादनलाई प्राथमिकता दिन र सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको खरिदलाई प्रोत्साहन गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ।

प्रतिनिधिहरूले वित्तीय सहुलियत वास्तविक महिला उद्यमीसम्म नपुगेको गुनासो गर्दै सहुलियतलाई गाउँ–गाउँसम्म विस्तार गर्न, पहुँच बढाउन तथा धितो अभावका कारण उद्यम सञ्चालनमा समस्या भोगिरहेका महिलाका लागि वैकल्पिक वित्तीय व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

त्यसैगरी, महिला उद्यमीहरूको छाता संगठन महासंघलाई नीति निर्माण तथा सरकारी संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तहमा सञ्चालन हुने सीपमूलक तालिमका लागि दक्ष स्रोत व्यक्ति उपलब्ध गराउन महासंघ तयार रहेको प्रतिबद्धता जनाएको छ।

छलफलको अन्त्यमा महिला उद्यमी महासंघका पदाधिकारीहरूले आफ्ना समस्या गम्भीरतापूर्वक सुनेर तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गरेका छन्।

खबरपाटी
खबरपाटी