काठमाडौं – नेपाली कांग्रेसकी सांसद सीता थपलियाले आफूले केही दिनमै दुई पटक आत्महत्याको प्रयास गरेको बताएकी छिन्।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आफूलाई सामाजिक संजालमा ट्रोल गरिएपछि विक्षिप्त भएर आत्महत्याको प्रयास गरिएको बताएकी हुन्।
केही दिन अघि संसद बैठकमा उनले बोलेको अभिव्यक्ति कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाको अभिव्यक्तिसँग हुबहु मिलेको थियो। त्यही अभिव्यक्ति जोडेर सामाजिक संजालमा ट्रोल गरिएको भन्दै उनले आफू पीडित भएको बताइन्।
तीन जना युवाहरुले आत्मदाह गरेको प्रसंग उठाएको भन्दै उनले राज्यले नसुनेसम्म सयौं सांसदले एउटै कुरा उठाउने पनि उनले बताइन्।
‘हामी दुई जना माननीयले एउटै कुरा राखेका थियौं। सरकारले कुरा नसुनेपछि हाम्रो शैली फरक थियो। सरकारले जबसम्म कान सुन्दैन तबसम्म हामी त्यो शैली अपनाइरहन्छौं। दुई जना माननीयले मात्र होइन सय जना माननीयले पनि एउटै कुरा राख्न सक्छौं।’ थपलियाले भनिन्, ‘यसैलाई आधार बनाएर सामाजिक संजालम जुन ट्रोल बनाइएको थियो। त्यो सहन नसकेर म बिक्षिप्त भएको थिएँ र यो अवधिमा मैले आफैंले दुई पटक आत्महत्या गर्ने कोशिस पनि गरेँ।’