काठमाण्डौ – स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली फ्रान्स २ गोलले पराजित भयो ।
अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एक/एक गोल गरे । स्पेनले २२औँ मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो । फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
स्पेनले दोस्रो हाफको ५८औँ मिनेटमा अग्रता दोब्बर बनायो । उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे । त्यसपछि थप गोल हुन सकेन ।
सन् २०१० को उपाधि विजेता स्पेन १६ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भयो । स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा आज मध्य राति पौने १ बजे इंग्ल्यान्ड र अर्जेन्टिनाले खेल्दैछन् । अर्जेन्टिना साबिक उपाधि विजेता टोली हो । यो विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे हुनेछ ।