मन्त्री सिता बादीको पदबहालीपश्चात् २,०४६ हराएका बालबालिका सकुशल फेला, १६९ बालबालिकाको उद्धार

मन्त्री सिता बादीको पदबहालीपश्चात् २,०४६ हराएका बालबालिका सकुशल फेला, १६९ बालबालिकाको उद्धार

काठमाडौ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत माननीय मन्त्री सिता बादीको पदबहालीपश्चात् हराएका, बेवारिसे अवस्थामा फेला परेका तथा सडकमा आश्रित बालबालिकाको खोजतलास, उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनसम्बन्धी कार्य प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ।

२०८२ साल चैत १३ गतेदेखि २०८३ साल असार १० गतेसम्मको अवधिमा केन्द्रले निम्नानुसार उपलब्धि हासिल गरेको छः

हराएका बालबालिकाको खोजतलासतर्फ

* २,४४० जना हराएका बालबालिकासम्बन्धी विवरण दर्ता भएकोमा २,०४६ जना बालबालिका सकुशल फेला परेका छन्, जुन कुल दर्ता भएका घटनाको करिब ८४ प्रतिशत हो।
* हाल ३९४ जना बालबालिकाको खोजतलास नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा निरन्तर जारी रहेको छ।

बेवारिसे अवस्थामा फेला परेका बालबालिकातर्फ

* १०३ जना बालबालिकाको उद्धार गरी संरक्षणको दायरामा ल्याइएको छ।
* उद्धार गरिएकामध्ये ६० जना बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ।
* बाँकी ४३ जना बालबालिका हाल सुरक्षित संस्थागत संरक्षणमा रहेका छन्।

सडकमा आश्रित बालबालिकातर्फ

* ६६ जना बालबालिकाको उद्धार गरी संरक्षणको दायरामा ल्याइएको छ।
* तीमध्ये २१ जना बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ।
* बाँकी ४५ जना बालबालिका हाल संस्थागत संरक्षणमा रहेका छन्।

यस अवधिमा बेवारिसे अवस्थामा फेला परेका तथा सडकमा आश्रित गरी कुल १६९ जना बालबालिकाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ८१ जना बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८८ जना बालबालिका हाल सुरक्षित संस्थागत संरक्षणमा रहेका छन्।

मन्त्रालयले नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको प्रभावकारी समन्वयमा जोखिममा रहेका बालबालिकाको शीघ्र खोजतलास, उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको छ। बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाल संरक्षण प्रणालीलाई थप सुदृढ, प्रभावकारी र उत्तरदायी बनाउने कार्यलाई मन्त्रालयले निरन्तरता दिएको छ।

मन्त्रालयले आगामी दिनमा पनि हराएका, जोखिममा परेका तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको खोजतलास, उद्धार, संरक्षण तथा पुनर्स्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक बालबालिकाको सुरक्षित, सम्मानजनक तथा पारिवारिक वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

खबरपाटी
खबरपाटी