वर्षा र पहिरोले जोखिम बढ्दा काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द

वर्षा र पहिरोले जोखिम बढ्दा काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द

काठमाडौं – वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ। सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ।

नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो। आज बिहान पनि गाडीहरु छोडिएको छैन।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथकाअनुसार नागढुंगा–मुग्लिन–नारायणगढ आउजाउ गर्ने सवारी साधनलाई रोक लगाइएको छ। चितवनका केराबारी र तुइनखोलामा पहिरो खसेकाले सवारी आवतजावत अवरुद्ध छ।

यसैगरी बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ।

फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक पनि बन्द गरिएको छ। कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले सो सडक पनि बन्द छ।

हिजो रातभर परेको वर्षाले यात्रामा जोखिम बढेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। आज बिहान पनि दिवाकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।जोखिम विश्लेषण गरी कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्नेबारे निर्णय लिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले हिजो बेलुकादेखि नै पहिरोको जोखिम रहेको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्म सवारीसाधनहरूलाई आवागमनमा रोक लगाएको थियो।

खबरपाटी
खबरपाटी