काठमाण्डौ - सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सरकारको पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको सचिव राउतले जानकारी दिनुभयो । पछिल्लो समयमा ७ वटा बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य (डीडीए) रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो । कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुनेछ ।
वर्तमान सरकारको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी दिनुभएको हो । २०६९ साल माघ १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा गएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि परीक्षण उत्पादन गर्न असार १८ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो ।