धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमबार राति साढे ११ बजे आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
साँझ ५ बजे नै बजेट प्रस्तुत गर्ने कार्यसूची रहे पनि सत्ता गठबन्धनभित्र बजेट तथा कार्यक्रमको भागबण्डामा सहमति जुट्न नसक्दा बजेट प्रस्तुति ढिलिएको थियो। अन्ततः राति अबेर बसेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरिएको हो।
बजेट प्रस्तुत भइरहँदा प्रदेश सभाको प्रतिपक्षी बेन्च भने खाली थियो। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले दिनभर कुराएर मध्यरातितिर बजेट ल्याइएको भन्दै बैठक बहिष्कार गरेका थिए। प्रतिपक्षी सांसदहरू बाहिरिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकलाई निरन्तरता दिएका थिए।
अर्थमन्त्री धामीले कुल ३७ अर्ब ७० करोड रुपैयाँको बजेट घोषणा गरे पनि चालु खर्च र पुँजीगत खर्चको विस्तृत विवरण सार्वजनिक गरेनन्। मन्त्रालयगत बजेट विनियोजनसमेत भाषणमा समेटिएको छैन। विगतका बजेटहरूमा मन्त्रालयगत रूपमा विनियोजन खुलाउने अभ्यास रहेकामा यसपटक त्यो विवरण नआएपछि बजेटको तयारीमाथि प्रश्न उठेको छ।
स्रोतका अनुसार सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बजेटको भागबण्डा र योजनाको प्राथमिकताका विषयमा अन्तिम समयसम्म विवाद कायम रहेकाले मन्त्रालयहरूले विस्तृत कार्यक्रम र विनियोजन टुंगो लगाउन सकेका थिएनन्। त्यसैको प्रभाव बजेट भाषणमा परेको बताइएको छ।प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै चार अर्ब रुपैयाँ बढीको बजेट ल्याए पनि खर्चको संरचना र मन्त्रालयगत बाँडफाँटबारे स्पष्ट विवरण नदिँदा बजेटमाथि थप बहस हुने देखिएको छ।