काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहसँग सम्बन्धित व्यक्तिहरूबाट प्रधानमन्त्री र आफूविरुद्ध नियोजित रूपमा आक्रमण तथा घेराबन्दी भइरहेको दाबी गरेका छन्।
बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बजेटमाथिको छलफलका क्रममा बोल्दै मन्त्री वाग्लेले सरकारले गम्भीर वित्तीय अनियमिततासम्बन्धी विषयमा छानबिन अघि बढाइरहेको र उक्त प्रकरण छिट्टै अदालतमा पुग्ने बताए।
उनले छानबिनको दायरामा रहेका समूहहरू सरकारप्रति असन्तुष्ट रहेको उल्लेख गर्दै त्यही पृष्ठभूमिबाट प्रधानमन्त्री र आफूविरुद्ध विभिन्न प्रकारका आक्रमण र भ्रम फैलाउने प्रयास भइरहेको आशंका व्यक्त गरे।
मन्त्री वाग्लेले सांसदहरूलाई यस्ता समूहका प्रचार वा प्रभावमा नपर्न आग्रह गर्दै संसदको गरिमा र विश्वसनीयता जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताए। उनले तथ्य र प्रमाणका आधारमा छलफल गर्नुपर्नेमा जोड दिँदै संसदलाई अफवाह र प्रभावको आधारमा कमजोर बनाउन नहुने धारणा राखे।